काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र परीक्षाकै समयमा सार्वजनिक गरेको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनीहरूलाई आज बिहान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
यही साउन ८ गते भएको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएको थियो। घटनाको गम्भीरतालाई हेर्दै त्रिवि परीक्षा नियन्त्रण महाशाखाले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ।
समितिमा सहप्राध्यापकद्वय पुष्कर रैखला र महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई सात कार्यदिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। यसअघि व्यवस्थापन संकाय डिनको कार्यालयले दोषीमाथि कारबाहीका लागि साइबर ब्यूरोलाई समेत पत्राचार गरेको थियो। सिआइबीले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।