काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको नयाँ सत्ता समीकरणपछि उत्पन्न परिस्थितिबारे सातै प्रदेशका नेताहरूसँग विशेष परामर्श गरेका छन्। आइतबार पार्टी मुख्यालय सानेपामा भएको छलफलमा सातै प्रदेशका सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको सहभागिता थियो।
बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था, संघीयताको संरक्षण र अन्य दलहरूसँगको सहकार्यबारे गम्भीर छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले जानकारी दिए। एमाले र नेकपाको गठबन्धनले मात्र बहुमत नपुग्ने बागमती, मधेस र गण्डकी प्रदेशमा कांग्रेसले अन्य साना दलहरूसँग मिलेर सरकार बनाउने वा प्रतिपक्षमा बस्ने भन्नेबारे प्रदेशको अंकगणित हेरेर निर्णय लिने भएको छ।
कांग्रेसले लोकतन्त्र र संघीयता स्वीकार गर्ने दलहरूसँग संवाद जारी राख्ने नीति लिएको छ। एमाले-नेकपा सहमतिले प्रदेशको राजनीतिमा नयाँ मोड ल्याएपछि कांग्रेसले आफ्नो रणनीति तय गर्न यो परामर्श बैठक बोलाएको हो।