काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिजम, अवसरवाद र अराजकतावादको आधारमा उदाएका राजनीतिक शक्तिहरू दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै नयाँ शक्तिहरूको पतन छिट्टै हुने जिकिर गरे।
पोखरेलले छिटो उदाएका शक्तिहरूको असफलतापछि उत्पन्न हुने राजनीतिक रिक्ततालाई व्यवस्थापन गर्नु नै अहिलेको मुख्य चुनौती भएको बताए। उनँले नयाँ शक्ति असफल हुँदैमा जनमत स्वतः पुराना दलहरूतर्फ फर्किहाल्छ भन्ने भ्रममा नपर्न नेताहरूलाई सचेत गराए।
विशेषगरी युवा पुस्तामाझ राजनीतिक दलहरूको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै पोखरेलले संगठनलाई युवामैत्री बनाउन आवश्यक रहेको बताए। पपुलिजमको असफलतापछि देशलाई सही दिशा दिन मूलधारका राजनीतिक दलहरूले समयमै ठोस रणनीति तय गर्नुपर्नेमा उनको जोड थियो।