काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५१ वटा सवारी साधन र चालकलाई कारबाही गरेको छ। साउन ९ गते बिहान ६ बजेसम्मको विवरणअनुसार विभिन्न ट्राफिक कसुरमा उनीहरूमाथि कारबाही गरिएको हो।
प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै ७३७ जना विविध ट्राफिक कसुरमा रहेका छन्। यस्तै, तीव्र गतिमा सवारी चलाउने ११३ जना, मादक पदार्थ सेवन (मापसे) गर्ने ८७ जना र लेन अनुशासन उल्लंघन गर्ने ८७ जनालाई कारबाही गरिएको छ।
यसका साथै एकतर्फी (वन–वे) नियम मिच्ने ३४, रातो बत्ती उल्लंघन गर्ने ३२, हर्नको दुरुपयोग गर्ने ३३ र अवस्था ठीक नभएका २१ वटा सवारी साधनमाथि पनि कारबाही भएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन नियमित निगरानी र कारबाही अभियान जारी रहने बताउँदै सबै चालकलाई जिम्मेवार भई नियम पालना गर्न आग्रह गरेको छ।