काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से १४.१७ अंक (०.५२ प्रतिशत) ले बढेर २७२६.७२ विन्दुमा पुगेको छ। बुधबार दोहोरो अंकले घटेको बजारमा आज सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेर ४ अर्ब ६९ करोड ३४ लाख रुपैयाँमा खुम्चिएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी र अन्य बाहेक सबै समूहको परिसूचक बढेका छन्। व्यापार उपसमूह सर्वाधिक २.५८ प्रतिशतले बढ्दा जलविद्युत् १.१२ प्रतिशतले उकालो लाग्यो। आज १५३ कम्पनीको शेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ।
नयाँ सूचीकृत कम्पनी एभरेस्ट कलरको मूल्यमा १५ प्रतिशतको सकारात्मक सर्किट लाग्यो। अर्कोतर्फ, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्यमा १५ प्रतिशतको गिरावट आयो। यस कम्पनीको संस्थापक र स्थानीयको शेयरमा 'लकइन' अवधि सकिएकाले बिक्री चाप बढ्दा मूल्यमा भारी गिरावट आएको हो। रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक २८ करोड ३३ लाख रुपैयाँको कारोबार भयो भने आँखुखोला जलविद्युत् २७ करोड ५२ लाखसहित दोस्रो स्थानमा रह्यो।