काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दैछ। नेदरल्याण्ड्सको उट्रेक्टस्थित मैदानमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा नामिबियासँग ८ विकेटको भारी हार बेहोरेको नेपाल आजको खेलमा जित निकाल्दै पुनरागमन गर्ने लक्ष्यमा छ। विश्वकप ग्लोबल छनोटमा सिधै स्थान बनाउन (शीर्ष ४ भित्र पर्न) नेपालले बाँकी ७ मध्ये ६ खेल जित्नुपर्ने कठिन चुनौती छ। यस्तै, आगामी चार वर्षका लागि एकदिवसीय (ओडीआई) मान्यता जोगाउन (शीर्ष ६ भित्र पर्न) नेपालले अबका खेलमध्ये कम्तीमा चार खेल जित्नुपर्ने दबाब छ।
नामिबियासँगको हारले नेपालको समीकरण कठिन बनाएकाले आजको खेललाई निकै निर्णायक मानिएको छ। यस शृंखलापछि नेपालले आगामी अक्टोबरमा क्यानडा र अमेरिकासँग अन्तिम त्रिकोणात्मक शृंखला खेल्ने तालिका छ। आजको खेलमा नेपालले आफ्नो ब्याटिङ र बलिङ दुवै पक्षमा सुधार गर्दै अंक जोड्ने प्रयास गर्नेछ।