काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४५८ सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा गरेको जाँचका क्रममा बिहीबार बिहानसम्म उनीहरूलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै तीव्र गतिमा सवारी चलाउने १४८ जना रहेका छन्। यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ५२, लेन अनुशासन उल्लंघन गर्ने ९१, रातो बत्ती काट्ने ५६ र हर्न निषेध क्षेत्रमा हर्न बजाउने ४४ जना चालक कारबाहीमा परेका छन्।
यसका साथै, यान्त्रिक अवस्था ठिक नभएका ५०, एकतर्फी सडकमा सवारी चलाउने ४० र अन्य विभिन्न नियम उल्लंघन गर्ने ९४२ जनालाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरीले नियमित जाँचमा कडाइ गर्दै आएको छ।