काठमाडौँ महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने

Author

सजिलो पत्रिका

२०८३ साउन ०६, बुधबार

3
Share
Featured
  • काठमाडौं महानगरले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने सम्झौता गरेको छ।
  • विद्यालयको पूर्वाधार, शैक्षिक गुणस्तर, आधुनिक प्रविधि र दीर्घकालीन गुरुयोजना मार्फत विकास गरिनेछ।
  • विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ राख्ने र यसको सञ्चालनका लागि निर्देशक समिति गठन गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौं । काठमाडौँ महानगरपालिकाले महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने भएको छ । विद्यालयलाई महानगरको नमूना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले बुधबार काठमाडौँ महानगरपालिका र महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीबिच सम्झौता भएको हो ।

सम्झौतामा महेन्द्र भवन सार्वजनिक शैक्षिक गुठीका तर्फबाट अध्यक्ष प्रा. डा. प्रमिला राई र काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, मानव स्रोत सुदृढीकरण तथा दीर्घकालीन गुरुयोजनामार्फत विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको ‘नमूना विद्यालय’ बनाउने उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महेन्द्र भवन र महानगरबिच भएको सहकार्य विद्यालयको शैक्षिक पुनर्जीवनको ‘टर्निङ प्वाइन्ट’ हुने विश्वास व्यक्त गरिन् ।

विगतमा उत्कृष्ट शैक्षिक पहिचान बनाएको महेन्द्र भवनलाई पुनः उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्ने जिम्मेवारी महानगर र गुठी दुवैको रहेको उनको भनाई छ । उनले महेन्द्र भवनलाई ‘सेन्टर अफ एजुकेसन एक्सिलेन्स’ का रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताइन् । उनले विद्यालयलाई पुनः उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न दीर्घकालीन ‘मास्टर प्लान’ बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

सम्झौताअनुसार अब विद्यालयको नाम ‘महेन्द्र भवन महानगर विद्यालय’ राखिनेछ, जसका लागि आवश्यक कानूनी तथा संस्थागत प्रक्रिया अघि बढाइने सम्झौतामा उल्लेख छ । समझदारीपत्रमा विद्यालय सञ्चालनका लागि निर्देशक समिति गठन गर्ने व्यवस्था गरिएको छ ।

समितिको संयोजक काठमाडौँ महानगरपालिकाका उपप्रमुख रहनेछन् भने गुठीका अध्यक्ष सह–संयोजक हुनेछन् । सम्बन्धित वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, महानगरको शिक्षा विषयगत समितिका संयोजक तथा शिक्षा विभाग प्रमुख समितिमा रहने व्यवस्था गरिएको छ ।

यस्तै, हाल कायम नौ सदस्यीय शैक्षिक गुठीमा महानगरबाट आठ सदस्य थप गरी १७ सदस्यीय बनाइने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार विद्यालयको पूर्वाधार मर्मत, पुनर्निर्माण तथा विस्तारका लागि गुरुयोजना तयार गरी त्यसअनुसार बजेट व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाले लिएको छ ।

विद्यालय परिसरमा विशेष विद्यालय, खेलकुद एकेडेमी तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ । विद्यालयको नाम कुनै सहयोग वा साझेदारीका कारण परिवर्तन गर्न नपाइने व्यवस्था पनि सम्झौतामा समावेश गरिएको छ ।

महेन्द्रभवन माध्यमिक आवासीय विद्यालय वि.सं.२०१४ सालमा युनाइटेड मिसन नेपालको सहयोगमा स्थापना भएको थियो । पछिल्लो एक दशकदेखि विद्यार्थी संख्या घट्दै जाँदा विद्यालय सञ्चालन तथा व्यवस्थापनमा चुनौती देखिएको थियो । महानगर र गुठीबिचको सहकार्यले विद्यालयको भौतिक तथा शैक्षिक पुनरुत्थान गर्ने अपेक्षा गरिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई बुधबार पक्राउ गरेको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका उनलाई काठमाडौंको डिल्लीबजारबाट नियन्त्रणमा लिइएको हो।सीआईबीका अनुसार पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी प्रक्रियाका लागि अदालत बुझाउने तयारी भइरहेको छ। उनीमाथि बैंकिङ कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...