काठमाडौं । नेपाली काँग्रेस नेता मोहन बहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताएका छन्।
वीपी स्मृति दिवसको अवसरमा बुधवार नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौँमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्।
नेता बस्नेतले पार्टी एकता गर्नको लागि निकै ढिला भइसकेको भन्दै पार्टी निर्माणको प्रक्रिया थाल्नुपर्ने बताए। उनले नेपाली कांग्रेस कमजोर भएको अवस्थामा प्रजातन्त्र समाप्त हुनुका साथै मुलुक दुर्घटनामा जाने खतरा रहेको भन्दै त्यसतर्फ समयमै सचेत हुनुपर्ने बताए।
नेता बस्नेतले नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान दिन नहुने टिप्पणी पनि गरे। उनले तत्काल राष्ट्रिय भेला आयोजना गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए।