काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता जोखिमपूर्ण अवस्थामा रहेको भन्दै परिवर्तनकारी शक्तिहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। बुधबार जनकपुरमा मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका सहयात्री दलहरू नेपाली काँग्रेस, मधेस केन्द्रित दल र अन्य शक्तिहरूसँग पुनः मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। "अहिलेको असाधारण जटिल राजनीतिक परिस्थिति र स्वाधीनतामाथिको चुनौती सामना गर्न हिजोका सहयात्रीहरू मिल्नुको विकल्प छैन," उनले भने।
उनले विगतमा अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रभाव र सम्बन्ध विस्तारमा केही कमजोरी भएको स्वीकार गर्दै अब विश्वका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूसँगको सम्बन्धलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाए। सांगठनिक रूपमा मधेस प्रदेशको शपथ ग्रहण सकिएसँगै अब बागमती प्रदेश मात्र बाँकी रहेको र यसले पार्टीको अभियानलाई नयाँ गति दिने प्रचण्डको विश्वास छ।