काठमाडौं । नेपाली काँग्रेसका नेता विजय कुमार गच्छदारले पार्टी सभापति गगन थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गर्नुभएको छ ।
वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले निर्वाचन आयोग र अदालतले आफू नेतृत्वलाई वैधानिकता दियो भन्दैमा पार्टीमा फरक मत राख्ने नेता र पार्टीको इतिहासलाई सिध्याएर अघि बढ्न नहुनेमा जोड दिनुभयो । उहाँले पार्टी निर्माणको लागि ठुलो त्याग र बलिदान गरेका नेताहरु संस्थापनइतर पक्षसँग रहेको दाबी पनि गर्नुभयो । उहाँले काँग्रेसको आत्मा र भावना आफूहरुसँगै रहेको भन्दै यसलाई नजरअन्दा नगर्न समेत चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘म सबैलाई आह्वान गर्दछु, काँग्रेस यहाँ छ । काँग्रेसका भावना यहाँ छ, आत्मा यहाँ छ । सभापति गगन थापाज्यू काँग्रेसम ठूलो त्याग र बलिदान गरेका नेताहरु तपाई भन्दा बाहिर छन् । तपाईं विशेष अधिवेशनबाट सभापति बनिसक्नुभयो । वैधानिक रूपले तपाईंलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसक्यो । तपाईं बलियो सभापति हुनुभयो । यति धेरै बलियो सभापति भएर तपाईंसँग असहमति भएका काँग्रेसलाई सिध्याएर सभापति बन्न सुहाउँछ ? त्यसकारण पनि सभापतिलाई मेरो सन्देश छ, समय कसैको लागि पर्खिदैन । त्यसकारण तपाईंको लागि समय आएको छ बडो राम्रो समय आएको छ । सभापति भएर तपाईं त यो सम्बोधनमा वीपी कोइरालाले प्रतिपादन गरेको नीति र सिद्धान्तलाई आत्मसाथ गरेर सबैलाई मिलाएर जानुस् । पार्टीको असहमति पक्षलाई सहमतिमा ल्याएर १५ औँ महाधिवेशन गर्न तपाईं सफलता हासिल गर्नुस् मेरो शुभकामना छ ।’
उहाँले वीपी कोईरालाले प्रतिपादन गरेको नीति र सिद्धान्तलाई आत्मसात गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न समेत संस्थापन पक्षलाई आग्रह गर्नुभयो ।