काठमाडौँ।
नवनियुक्त मुख्यसचिव गोविन्द बहादुर कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकबाट मुख्यसचिवमा नियुक्त भएका कार्कीले आज एक संक्षिप्त समारोहबीच पदभार ग्रहण गर्दै औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
२०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्की वरियतामा दर्जनौँ सचिवभन्दा पछाडि भए पनि उनको कार्यक्षमता, अनुभव र नेतृत्व क्षमताका आधारमा सरकारले उनलाई मुख्यसचिवको जिम्मेवारी दिएको हो। यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै सचिवका रूपमा कार्यरत थिए।
पदभार ग्रहणसँगै मुख्यसचिव कार्कीले नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्दै सरकारका निर्णयहरूको प्रभावकारी कार्यान्वयन, निजामती प्रशासनको समन्वय र प्रशासनिक सुधारका कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।