काठमाडौँ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ। यो सम्झौतासँगै कोशी प्रदेश प्रहरीअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले नोबेल अस्पतालबाट विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने आधार तयार भएको छ।
सम्झौताले उपचार सेवाका साथै स्वास्थ्य सचेतना, रोग निवारणमुखी कार्यक्रम तथा अन्य जनस्वास्थ्यसम्बन्धी गतिविधिमा समेत दुवै संस्थाबीच सहकार्य गर्ने बाटो खोलेको छ। राष्ट्रको सुरक्षामा अहोरात्र खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउन र आवश्यक पर्दा समयमै उपचार सुनिश्चित गर्न यो साझेदारी गरिएको अस्पतालले जनाएको छ।

नेपाली काँग्रेसका नेता डा. सुनील शर्माको नेतृत्वमा सञ्चालित नोबेल मेडिकल कलेजले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको छ। अत्याधुनिक प्रविधि र अनुभवी विशेषज्ञ चिकित्सक रहेको यस अस्पतालले विपन्नको उपचार, निःशुल्क स्वास्थ्य शिविर र विभिन्न मानवीय अभियानमार्फत पूर्वी नेपालको स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।