काठमाडौँ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र नर्वेबीचको द्विपक्षीय सम्बन्ध तथा स्वास्थ्य क्षेत्रमा भइरहेको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
मन्त्री मेहताले स्वास्थ्य पूर्वाधार विकास, सेवाको डिजिटाइजेशन, जलवायु परिवर्तन, नसर्ने रोग र मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा रहेको बताउँदै यी क्षेत्रमा नर्वेसँग थप सहकार्यको अपेक्षा गरिन्। राजदूत म्योसले नेपालको विकास प्राथमिकताअनुसार स्वास्थ्य क्षेत्रमा सहयोगलाई निरन्तरता दिने र थप नयाँ कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
छलफलमा नर्वेको सहयोगमा सञ्चालित मातृ तथा बाल स्वास्थ्य, स्वास्थ्य सूचना प्रणाली र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम लगायतका क्षेत्रमा भइरहेका प्रगतिबारे समेत समीक्षा गरिएको थियो। दुवै पक्षले लामो समयदेखिको स्वास्थ्य र शिक्षा क्षेत्रको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।