काठमाडौँ।
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले काठमाडौँमा तिब्बती आध्यात्मिक नेता दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिएको भन्दै बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् । खनालले यस कदमलाई नेपालको स्थापित 'एक चीन नीति' विरुद्धको 'निर्लज्ज' र 'राष्ट्रहित विरोधी' कार्यको संज्ञा दिएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै नेता खनालले असार २२ गते (जुलाई ६) का दिन स्वयम्भूस्थित नाम्ग्याल निम्न माध्यमिक विद्यालयमा दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएकोमा गम्भीर आपत्ति जनाएका हुन् । उनले नेपालको इतिहासमै पहिलो पटक यस्तो अनुमति दिइएको दाबी गर्दै यसले नेपाल र चीनबीचको सुमधुर दौत्य सम्बन्धलाई खल्बल्याउने काम गरेको बताएका छन् ।
उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अष्ट्रेलियाली राजदूतहरूको उपस्थितिलाई खनालले 'अत्यन्त गम्भीर र आपत्तिजनक' भनेका छन् । उनले पश्चिमा शक्तिहरूले नेपाललाई चीन विरोधी अखडा बनाउन र 'युक्रेन' जस्तै द्वन्द्वको भुमरीमा धकेल्न भित्री षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । "नेपालको भूमि छिमेकीहरूका विरुद्ध प्रयोग गर्ने अधिकार कसैलाई छैन," खनालले भनेका छन् ।
सरकारलाई चेतावनी
खनालले सरकारलाई इतिहास स्मरण गराउँदै जनताको हित विपरीत जाने सरकारलाई नेपाली जनताले उखेलेर हटाएको उदाहरण दिएका छन् । उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई समयमै सचेत हुन आग्रह गर्दै भनेका छन्, "आफैँले निर्वाचित गरेका सरकारहरूलाई जनताको हित विरुद्ध जाँदा नेपाली जनताले उखेलेर हटाएको कुरालाई बालेन्द्र सरकारले संस्मरण गर्नु राम्रो हुन्छ ।"
नेता खनालले विश्व बैंक र एडिबीको खर्बौँको ऋण भार बोकाउनु पश्चिमाहरूको हितमा भए पनि नेपालको हितमा नहुने उल्लेख गर्दै चीनसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउनु नै नेपालको दीर्घकालीन हितमा हुने ठहर गरेका छन् । उनले 'एक चीन नीति' मा दृढ रहन र नेपालको भूमि छिमेकी विरुद्ध प्रयोग हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।