काठमाडौं । फिफा विश्वकप २०२६ को
अन्तिम १६ अन्तर्गत आजको सबैभन्दा आकर्षक खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र अल्भारो मोराटाको स्पेन आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार खेल आज राति पौने १ बजे
डलास स्टेडियममा हुनेछ । दुई युरोपेली शक्तिबीचको यो भिडन्तले क्वार्टरफाइनल
पुग्ने टोलीको टुंगो लगाउनेछ ।
२०१८ को स्मरणीय भिडन्त
पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो
पटक भिड्न लागेका हुन् । यसअघि २०१० मा स्पेनले १–०
को जित निकालेको थियो भने २०१८ मा भएको रोमाञ्चक खेल ३–३ को बराबरीमा सकिएको थियो । उक्त खेलमा रोनाल्डोले ह्याट्रिक
गर्दै विश्व फुटबलकै चर्चित प्रदर्शन दिएका थिए ।
इतिहास कसको पक्षमाः
दुवै टोलीबीच हालसम्म ४१
अन्तर्राष्ट्रिय खेल भएका छन् । स्पेनले १८ खेल जित्दा पोर्चुगलले ७ खेल मात्रै
जितेको छ । १६ खेल बराबरीमा टुंगिएका छन् । समग्र हेड–टु–हेडमा स्पेन स्पष्ट रूपमा बलियो
देखिए पनि पछिल्ला ठूला प्रतियोगितामा यी दुई टोलीबीचको प्रतिस्पर्धा निकै कडा
रहँदै आएको छ ।
अपराजित यात्रा, फरक शैली
दुवै टोली यस विश्वकपमा अहिलेसम्म
अपराजित छन् । पोर्चुगलले चार खेलमा दुई जित र दुई बराबरी खेलेको छ । समूह चरणमा
उज्बेकिस्तानमाथि ५–० को फराकिलो जित निकालेको टोलीले
नकआउट चरणमा पनि लय कायम राखेको छ । कप्तान रोनाल्डोले प्रतियोगितामा तीन गोल
गरिसकेका छन् र टोलीको मुख्य आक्रमणको केन्द्र बनेका छन् ।
स्पेनले भने पोर्चुगलभन्दा सन्तुलित
प्रदर्शन गरेको छ । टोलीले समूह चरणमा साउदी अरेबियालाई ४–०, उरुग्वेलाई १–० ले हरायो भने केप भर्डेसँग गोलरहित बराबरी खेल्यो । अन्तिम ३२
मा अस्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले आफ्नो
रक्षात्मक मजबुती पनि देखाएको छ । प्रतियोगिताभर स्पेनले विपक्षीलाई गोल गर्ने
धेरै अवसर दिएको छैन ।
निर्णायक खेलाडी को ?
पोर्चुगलको आशा ४१ वर्षीय कप्तान
क्रिस्टियानो रोनाल्डोमाथि हुनेछ । ठूला खेलमा निर्णायक प्रदर्शन गर्ने उनको
क्षमता अझै कायम छ ।
स्पेनका लागि युवा स्टार लामिन
यामाल, कप्तान अल्भारो मोराटा, तथा मिडफिल्डमा रोड्रि
र पेद्री निर्णायक बन्न सक्छन् । स्पेनको बलियो पक्ष भनेको सन्तुलित टोली र
अनुशासित रक्षापंक्ति हो ।
पोर्चुगलः डिओगो कोस्टा, जोआओ क्यान्सेलो, रुबेन डायस, एन्टोनियो सिल्भा, नुनो मेन्डेस, जोआओ पाल्हिन्हा, भिटिन्हा, ब्रुनो फर्नान्डिस, बर्नार्डो सिल्भा, राफा लिओ, क्रिस्टियानो रोनाल्डो
।
स्पेनः डेभिड राया, ड्यानी कार्भाहाल, रोबिन ले नोर्मान्ड, अमेरिक लापोर्टे, मार्क कुकुरेला, रोड्रि, फाबियन रुइज, पेद्री, लामिन यामाल, अल्भारो मोराटा, निको विलियम्स ।