काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ टीका संग्रौला (ज्वाला)ले पार्टीको केन्द्रीय समिति निर्वाचनका लागि प्रयोग गरिएको भोटिङ मेसिनमा आफ्नो परिचित नाम ‘ज्वाला’ हटाइएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी छन्। चितवनमा जारी महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार रहेकी संग्रौलाले आफ्नो नामबाट ‘ज्वाला’ गायब पारिएकोमा गम्भीर आपत्ति जनाएकी हुन्।
आयोगमा बुझाइएको उजुरीमा उनले पार्टीको वेबसाइट, महाधिवेशन प्रतिनिधि र उम्मेदवारी दर्ता गर्दा समेत आफ्नो नाम ‘टिका संग्रौला 'ज्वाला'’ रहेको तर भोटिङ मेसिनमा ‘टिका संग्रौला’ मात्र राखिएको उल्लेख गरेकी छन्। उनले अन्य साथीहरूको कोष्ठक (ब्रकेट) भित्रको नाम यथावत रहेको तर आफ्नो मात्र हटाइनुलाई 'नाममा गरिएको राजनीति' को संज्ञा दिएकी छन्।
"भोट दिने साथीहरूले ज्वाला खोज्दा खोज्दै मतदानको समय समाप्त भयो," उनले सामाजिक सञ्जालमा लेखेकी छन्, "मेरो नाम मात्र मेसिनले खाएछ।" संग्रौलाले यस प्रक्रियाबाट आफूलाई भएको अन्याय र चुनावी क्षतिको जिम्मेवारी कसले लिने भन्दै निर्वाचन आयोगसँग जवाफ मागेकी छन् र घटनाको तत्काल अनुसन्धान गर्न माग गरेकी छन्।