काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा महामन्त्री पदको चुनावी समीकरणमा नाटकीय फेरबदल भएको छ। महामन्त्रीका पाँच प्रभावशाली आकांक्षीहरू गणेश पराजुली, निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, मन्त्री शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिँदै सहमहामन्त्री विपीन आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन्।
पार्टीको आन्तरिक एकता र नेतृत्वमा सहजताका लागि आफूहरूले आचार्यलाई साझा उम्मेदवारका रूपमा अगाडि बढाउने निर्णय लिएको नेता पराजुलीले जानकारी दिए। यो नयाँ ध्रुवीकरणले पार्टीको नीति निर्माणमा मुख्य भूमिका खेल्दै आएका इन्जिनियर विपीन आचार्यको पक्षमा बलियो माहौल सिर्जना गरिदिएको छ।
पाँच जना आकांक्षीहरू पछि हटेपछि अब महामन्त्रीको चुनावी मैदानमा विपीन आचार्य, सागर ढकाल, रञ्जु दर्शना, गणेश कार्की र राजुनाथ पाण्डे गरी पाँच जना मात्र बाँकी रहेका छन्। शीर्ष नेताहरूले अझै पनि सहमतिको प्रयास जारी राखेका छन्, यद्यपि आफ्ना फरक एजेन्डासहित मैदानमा रहेका सागर ढकाल, रञ्जु दर्शना र गणेश कार्कीले भने प्रतिनिधिहरूमाझ मत माग्न सुरु गरिसकेका छन्। यस फेरबदलले महाधिवेशनको बन्दसत्रमा नयाँ बहस र उत्साह थपिदिएको छ।