काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज (बिहीबार) पदाधिकारी चयनका लागि मतदान हुँदैछ। दोस्रो चरणको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेबाट सुरु हुने गरी तयारी मिलाइएको छ।
यस चरणमा खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि मतदान हुनेछ। प्रवक्ता मनिष झाका अनुसार एक जना मतदातालाई मतदान गर्न करिब ४ देखि ५ मिनेट लाग्नेछ।
यसअघि सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने तयारी छ। ९९ जना केन्द्रीय सदस्यका लागि भएको पहिलो चरणको मतदानमा २,९५९ जना प्रतिनिधि सहभागी भएका थिए। रास्वपाको १५८ सदस्यीय केन्द्रीय समितिमा ९९ जना निर्वाचित हुनेछन् भने बाँकी ५१ जना सभापतिले मनोनीत गर्ने प्रावधान छ। असार ७ गतेदेखि सुरु भएको यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्व टुङ्गो लगाउनेछ।