काठमाडौँ।
भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्पका कारण देशका विभिन्न भागमा दर्जनौँ भवनहरू भत्किएका छन्।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जका अनुसार ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ गम्भीर मानवीय सङ्कट उत्पन्न भएको छ। भग्नावशेषमा फसेका मानिसहरूको उद्धारका लागि सुरक्षाकर्मी र आपत्कालीन टोलीहरू निरन्तर परिचालन गरिएका छन्।
उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिँदै रोड्रिग्जले अहिले सरकारको प्रमुख प्राथमिकता जीवन रक्षा रहेको बताएकी छन्। प्रभावित क्षेत्रमा राहत तथा उपचार सेवालाई तीव्र बनाइएको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ।