काठमाडौँ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने आधार भएको बताएका छन्। आइतबार मदन भण्डारी मेमोरियल कलेजको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
उपराष्ट्रपति यादवले 'विद्या ददाति विनयम्' भन्ने संस्कृत श्लोक उद्धृत गर्दै नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा शिक्षा नै सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको मुख्य आधार भएको उल्लेख गरे। उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI) र डिजिटल नवाचारको वर्तमान युगमा आफ्नो मौलिक मूल्य र नैतिकतालाई नबिर्सी विश्वस्तरमा प्रतिस्पर्धा गर्न युवाहरूलाई आग्रह गरे।
शिक्षकहरूलाई राष्ट्र निर्माणका अभियन्ताको संज्ञा दिँदै उनले कलेजले विगत २५ वर्षमा सक्षम र जिम्मेवार नागरिक उत्पादन गरेर राष्ट्र निर्माणमा पुर्याएको योगदानको प्रशंसा समेत गरे। उनले २५ वर्षको यात्रालाई केवल समयको गणना मात्र नभई राष्ट्र निर्माणमा गरिएको साधना र आत्मसमीक्षा गर्ने अवसरका रूपमा चित्रण गरे।