काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले पार्टीभित्र कुनै पनि गुट वा उपगुट नरहेको स्पष्ट पारेका छन्। चितवनमा जारी महाधिवेशनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै साहले सभापति रवि लामिछानेको प्रस्तावकका रूपमा वरिष्ठ नेता बालेन शाह बसेपछि गुटबन्दीको सबै चर्चा अन्त्य भएको दाबी गरे।
"सभापतिको प्रस्तावक स्वयम् प्रधानमन्त्री (बालेन शाह) भएपछि गुट उपगुटको कुरा यहीँ सकियो," साहले भने। संविधान संशोधन कार्यदलका संयोजकसमेत रहेका उनले आगामी १०० दिनभित्र संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गरिने जानकारी दिए। उनले संविधान संशोधन राष्ट्रिय सहमतिका आधारमा हुने र यसका लागि पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्रीहरूसँग सुझाव लिने काम भइरहेको बताए।
प्रदेश खारेजी र सङ्घीयताका विषयमा सोधिएको प्रश्नमा उनले बहस पत्र तयार गर्ने क्रममा सबै पक्षको कुरा सुनेर राष्ट्रिय सहमति खोजिने बताए। उनले पार्टीले दलीय धारणाभन्दा माथि उठेर राष्ट्रिय हितमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।