काठमाडौँ।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयमा कार्यरत सदस्यहरूको उम्मेदवारी र भूमिकालाई लिएर निकै चर्चा सुरु भएको छ। सरकार सञ्चालन, नीति निर्माण र सुशासनका एजेन्डामा नेपथ्यबाट सक्रिय रहेका सचिवालयका सदस्यहरू अब पार्टीको औपचारिक नेतृत्वमा आउने तयारीले महाधिवेशनको माहोल तातेको हो।
प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् भने राजनीतिक सल्लाहकार असिम साह मुस्लिम क्लस्टरबाट केन्द्रीय सदस्यमा उठ्ने निश्चित भएको छ। त्यस्तै, स्वकीय उपसचिव प्रकृति ढकाल पनि युवा पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा सक्रिय देखिएकी छन्।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुबास शर्मा, स्वकीय सहसचिव सञ्जीव पाण्डे र उपसचिव विशाल अधिकारी भने महाधिवेशनको रणनीतिक व्यवस्थापन र शक्ति सन्तुलन मिलाउन सक्रिय देखिएका छन्। उनीहरू प्रत्यक्ष चुनाव लड्ने वा मनोनयनमार्फत नेतृत्वमा आउने भन्ने विषय प्रतिनिधिहरूबीच चासोको केन्द्र बनेको छ। सरकार सञ्चालनमा प्रभावशाली भूमिका खेलेका यी अनुहारहरू पार्टी संगठनको नेतृत्वमा कति बलियो उपस्थितिसहित देखिन्छन् भन्ने कुरालाई रास्वपाको भावी शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ।