काठमाडौं । चरा तथा पन्छीमा लाग्ने
अतिसंक्रामक भाइरल रोग ‘बर्ड फ्लु’ हालसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार चैत ४ गते मोरङमा पहिलोपटक
देखिएको बर्ड फ्लु हालसम्म ११ जिल्लामा फैलिएको हो ।
झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर
र काभ्रेमा बर्ड फ्लु पुष्टि भएको विभागले जनाएको छ । हालसम्म रोगबाट प्रभावित
पाँच लाख ६९ हजार ८५८ पन्छी, ९ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख
९५ हजार ४८५ किलो दाना नष्ट गरिएको छ ।
कोशी प्रदेशमा रोग नियन्त्रणका लागि एक
महिनासम्म पन्छी ओसारपसारमा लगाइएको रोक हाल अवस्था सुधार भएपछि खुकुलो बनाइएको
डा. दाहालले जानकारी दिए । पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाउँदै
गस्ती परिचालन गरी अवैध रूपमा भित्र्याइएका शंकास्पद पन्छी नष्ट गर्दै आएको छ ।
झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन
र नवलपरासीमा बर्ड फ्लु नियन्त्रणमा आइसकेको विभागले जनाएको छ । काठमाडौँ
उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा भने अझै प्रकोप देखिएको छ ।
उपत्यकामा विशेष
सावधानी अपनाउन आग्रह
पशु सेवा विभागले काठमाडौँ उपत्यकामा
बर्ड फ्लु नियन्त्रणका लागि विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विभागले
उपमहानिर्देशकको नेतृत्वमा रोग नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश
र स्थानीय तहको समन्वयमा नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
विभागले फार्म परिसरमा जैविक सुरक्षा
(बायोसेक्युरिटी) अपनाउन, अण्डा राख्ने पुराना कागजी क्रेट पुनः
प्रयोग नगर्न, ढुवानीका साधनलाई फार्ममा प्रवेश गराउनुअघि अनिवार्य रूपमा निसंक्रमण
गर्न आग्रह गरेको छ ।
त्यस्तै, कागलगायत जंगली
पन्छीलाई घरपालुवा पन्छीको दानासँग सम्पर्क हुन नदिने व्यवस्था गर्न तथा पन्छीजन्य
उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन विभागले अनुरोध
गरेको छ ।