काठमाडौँ।
स्वतन्त्र सांसद तथा अविष्कारक महावीर पुन पुनः मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उनलाई नवनिर्मित 'विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय' को जिम्मेवारी दिँदै मन्त्री नियुक्त गरेका हुन्। पुनले आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा पुनरागमन गर्न लागेका गृहमन्त्री सुदन गुरुङसँगै शपथ ग्रहण गर्ने कार्यक्रम छ।
यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले २१ फागुनको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिन मन्त्री पदबाट राजीनामा दिएका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन रहेको थियो।
सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई विशेष प्राथमिकता दिने उद्देश्यले गत ३० वैशाखमा यो छुट्टै मन्त्रालय स्थापना गर्ने निर्णय गरेको थियो। सोही नयाँ मन्त्रालयको पहिलो मन्त्रीका रूपमा पुनले कार्यभार सम्हाल्न लागेका हुन्।