काठमाडौँ ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने १ हजार ९५७ जना सवारीचालक कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा १० लाख ७८ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेहरूमा मादकपदार्थ सेवन (मापासे) गर्ने २३, नियमविपरीत 'राइड सेयरिङ' गर्ने १४४, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १८५ र तीव्र गतिमा सवारी चलाउने १८१ जना रहेका छन्।
यसैगरी, लेन अनुशासन पालना नगर्ने ८७, निषेधित क्षेत्रमा हर्न बजाउने ९१, सडक पेटीमा पार्किङ गर्ने १११ र एकतर्फी सडकमा सवारी चलाउने ९३ जनालाई पनि कारबाही गरिएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४२ जना चालक पनि प्रहरीको फन्दामा परेका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षा र नियम पालना गराउन उपत्यकाका विभिन्न स्थानमा निगरानी बढाएको छ।