काठमाडौँ
काठमाडौँस्थित शिक्षा तथा खेलकुद मन्त्रालयले वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै सेवा लिन आग्रह गरेको छ। मन्त्रालयले आर्थिक वर्ष २०८२–८३ का लागि नवीकरण भएका संस्थाहरूको सूची सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो।
मन्त्रालयका अनुसार सचिव चूडामणि पौडेलको जेठ ६ गतेको निर्णयअनुसार प्रकाशित सूचीमा १ हजार ४५९ स्वीकृतप्राप्त शैक्षिक परामर्श संस्थाहरू समावेश छन्। मन्त्रालयले विद्यार्थीलाई अनधिकृत तथा दर्ता नभएका संस्थाबाट हुने ठगी र भ्रमबाट बच्न सचेत गराएको छ।
सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ अनुसार अनुमति नलिएका संस्थामाथि कारबाही अभियान पनि तीव्र पारेको छ। हालै काठमाडौँ उपत्यकाका अवैध तथा शंकास्पद संस्थामा गरिएको छापामा पक्राउ परेकामध्ये ३२ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
झुटो विवरण, अनधिकृत कागजात प्रयोग तथा दर्ताविना सञ्चालन जस्ता गतिविधि रोक्न शिक्षा मन्त्रालय र नेपाल प्रहरीले संयुक्त रूपमा देशभर अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रलाई शुद्धीकरण गर्न कडाइका साथ कारबाही अघि बढाइने स्पष्ट पारेको छ।