काठमाडौँ
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोज कुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले सुनुवाइ प्रक्रिया पूरा गर्दै उनको नाम अनुमोदन गरेको हो ।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार संसदीय सुनुवाइ समितिको कार्यसञ्चालन नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम अनुमोदन गरिएको हो । अब उनी राष्ट्रपतिबाट शपथ लिएपछि सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।
वैशाख २४ गते संवैधानिक परिषद्ले उनको नाम सिफारिस गरेको थियो । कानुनी पृष्ठभूमिबाट आएका शर्मा २०७६ सालमा सर्वोच्च अदालत प्रवेश गरेका हुन् भने उनले नेपाल र भारतबाट कानुनी शिक्षा हासिल गरेका छन् ।
प्रधानन्यायाधीशका रूपमा उनको कार्यकाल करिब ६ वर्ष रहनेछ । कार्यकाल अवधिमा सर्वोच्च अदालतका केही न्यायाधीशहरू अवकाशमा जाने भएकाले न्यायपालिकाको नेतृत्व सम्हाल्दै संस्थागत सुधार गर्नु उनको प्रमुख चुनौती हुने बताइएको छ ।