काठमाडौँ
प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की र एसिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ (एपीजी) का प्रतिनिधिबिच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा मंगलबार भएको उक्त भेटमा एपीजीका डेपुटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड सानोन र पोलिसी अफिसर कियाह ससल सहभागी थिए ।
भेटमा नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानी सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्ने कार्ययोजना कार्यान्वयनमा प्रहरीको भूमिकाबारे छलफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै, वित्तीय अपराध नियन्त्रणमा प्रभावकारी सूचना आदान–प्रदान र अन्तरनिकाय समन्वय सुदृढ गर्ने विषयमा पनि छलफल गरिएको थियो ।
प्रहरीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न निकायसँग समन्वय गर्दै काम गरिरहेको र कर्मचारीहरूको क्षमता अभिवृद्धिमा जोड दिइएको जानकारी दिइएको छ । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्र बैंक, वित्तीय जानकारी इकाई र वरिष्ठ प्रहरी अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।