काठमाडौँ ।
चलचित्र निर्देशक नीर शाहले ‘लालीबजार’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको बताउनुभएको छ ।
सोमबार बेलुकी काठमाडौँस्थित जय नेपाल चलचित्र भवनमा चलचित्र हेरेपछि अभिनेता शाहले विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयले चलचित्रलाई आगामी कयौँ वर्षसम्म चर्चामा ल्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “चलचित्रका निर्माता, निर्देशक र कलाकारले हामीलाई वर्षांैसम्म सम्झिने सुन्दर कोसेलीका रुपमा चलचित्र ‘लालीबजार’ दिनुभएको छ । जुन विश्वासका साथ चलचित्र भवन छिरेको थिएँ, निस्किँदा त्योभन्दा बढी पाएँ । यसमा सबै कलाकारले जीवन्त अभिनय गर्नुभएको छ, हेर्नै पर्ने चलचित्र निर्माणमा संलग्न सबैलाई धन्यवाद दिन्छु ।”
उहाँसँगै अभिनेत्री प्रियंका कार्की, वर्षा राउत, अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशी, गायक खेम सेन्चुरीलगायतले पनि चलचित्रको तारिफ गर्नुभयो । चलचित्रमा मुख्य भूमिका निर्वाह गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र कलाकर्मीबाट पाइरहेको प्रतिक्रियाले आफूसहित सम्पूर्ण निर्माण टिम उत्साहित रहेको बताउनुभयो ।