काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई ले भोजपुरका हावाहुरी पीडितलाई राहत दिन ढिलाइ गरेको भन्दै केन्द्रीय सरकारको आलोचना गरेका छन्।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद राईले किराँत समुदायको साकेला पर्वको सन्दर्भ जोड्दै 'सै ढोले सै, केन्द्रीय सरकार खै' ? भन्दै सदनबाटै सरकारको ध्यानाकर्षण गराएका हुन्।
गत चैत १ र २ गते आएको विनाशकारी हावाहुरीका कारण भोजपुरका ६५ वटा घर र ८ वटा विद्यालयको छाना उडाएको उल्लेख गर्दै उल्लेख गर्दै उनले तत्कालीन गृहमन्त्रीलाई प्रत्यक्ष भेटेरै जानकारी गराउँदा पनि हालसम्म राहत नपुगेकोमा आक्रोश पोखे।
सदनमा बोल्दै सांसद राईले भने, मैले हावाहुरीले उडाएको जनताको घर र विद्यालयको विषयमा यसअघि नै सदनमा कुरा उठाएर सरकारलाई अनुरोध गरेको थिएँ। तर, आजसम्म पनि केन्द्रीय सरकारबाट ती ६५ घरपरिवारका लागि कुनै राहत पुगेको छैन।
सांसद राईले भोजपुरे जनताले इतिहासमा पहिलोपटक राणाहरूको शासन कब्जा गरेको ऐतिहासिक तथ्यको समेत स्मरण गराएका थिए।