काठमाडौँ
नेपाली अभिनेत्री तथा मोडल उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्ड बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय अभियानमा जुटेकी छन् । हाल अमेरिका बस्दै आएकी उनी अभिनय, निर्देशन र अध्ययनसँगै विश्व कीर्तिमानतर्फ अग्रसर भएकी हुन् ।
संयुक्त राज्य अमेरिकाको गोशेन कलेजमा फिल्म र थिएटर अध्ययन गरिरहेकी उरुषाले ४.० जीपीए हासिल गर्दै ‘डिन्स लिस्ट’ मा स्थान बनाएकी छन् । नेपालमा म्युजिक भिडियोमार्फत करियर सुरु गरेकी उनी पछि भारत र अमेरिका पुगेर मोडलिङ तथा अभिनय क्षेत्रमा सक्रिय रहँदै विभिन्न नाटक र प्रोजेक्टमा समेत काम गरिसकेकी छन् ।
उरुषाले सन् २०२६ मे महिनादेखि गिनिज वर्ल्ड रेकर्डका लागि विशेष अभियान सुरु गर्ने घोषणा गरेकी छन् । उनले २४ घण्टामा ३०० मोनोलग प्रस्तुत गर्ने, एकल नाटक लामो समयसम्म मञ्चन गर्ने, लामो भारतीय शैलीको नृत्य गर्ने तथा ‘सेल्फी च्यालेन्ज’ मार्फत विश्व रेकर्ड तोड्ने योजना सार्वजनिक गरेकी छन् ।
उनको अभियान सफल भएमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व हुने र नेपाली युवाहरूलाई विश्व मञ्चमा क्षमता देखाउन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।