काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतलगायतका मुलुकमा नेपाली महिलाहरू मानव तस्करीमार्फत १० देखि १२ लाख रुपैयाँमा बेचिने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सरकारले घरेलु कामका लागि विदेश जान प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले विभिन्न अवैध बाटो प्रयोग गरी नेपाली महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याउने क्रम नरोकिएको बताइन् । उनले यसरी संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।
सांसद ओलीले २०१७ सालदेखि घरेलु कामका लागि विदेश जान प्रतिबन्ध लगाइए पनि त्यसले महिलाहरूलाई सुरक्षित बनाउन नसकेको दाबी गरिन् । उनले एजेन्टहरू वैकल्पिक रुट प्रयोग गरी भारत र अफ्रिकी मुलुक हुँदै नेपाली महिलाहरूलाई विदेश पुर्याउने गरेको उल्लेख गर्दै यस्तो मानव बेचबिखन नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन् ।
उनले कुवेतमा नेपाली महिलाको बिक्री भइरहेको गम्भीर आरोप लगाउँदै पीडितको उद्धार र दोषीमाथि कडा कारबाही गर्न सरकार ढिलाइ गर्न नहुने चेतावनीसमेत दिएकी छन् ।