काठमाडौँ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका-४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा चिनियाँ इलेक्ट्रिक चुरोट (भेप) र अन्य अवैध सामानसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ। कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरका दुईवटा कन्टेनरबाट ५९० कार्टुन भेप बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल (नेचुङ बीओपी), नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले गरेको खानतलासीका क्रममा भेपका साथै २५९ कार्टुन जुत्ता, ८ बोरा मोजा र १५ बोरा लत्ताकपडा समेत फेला पारेको छ। पक्राउ पर्नेहरूमा धादिङका ४३ वर्षीय सन्तोष लामा तथा सिन्धुपाल्चोकका फुन्चुदोर्जे तामाङ र पासाङ शेर्पा रहेका छन्।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ भने बरामद गरिएका सामान र कन्टेनरहरू मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। कोरोला नाका सञ्चालनमा आएसँगै यस क्षेत्रमा सुरक्षा निकायले निगरानी बढाएको छ।

