काठमाडौँ
नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले वर्तमान नेतृत्वकै कारण पार्टी विभाजनको दिशातर्फ उन्मुख भइरहेको बताएका छन्। शनिबार वीरेन्द्रनगरमा आयोजित ‘कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा बोल्दै उनले पार्टीभित्र गम्भीर असन्तुष्टि र दूरी बढ्दै गएको बताए।
खड्काले पार्टीको केन्द्रीय कार्यालय सानेपामा रहेको नेतृत्व र बाहिर रहेका कार्यकर्ताबीच ठूलो खाडल सिर्जना भएको टिप्पणी गरे। उनले पार्टीलाई एकताबद्ध बनाउन नसके कांग्रेस विसर्जनको बाटोमा पुग्न सक्ने चेतावनी दिए।
उनले वर्तमान नेतृत्वमा अहङ्कार र व्यक्तिगत स्वार्थ हाबी भएको आरोप लगाए। नेताहरूले व्यक्तिगत आडम्बर, पारिवारिक स्वार्थ र धनको मोह त्यागेर कार्यकर्तामाझ पुग्नुपर्ने आवश्यकता रहेको उनले बताए।
खड्काले पार्टीभित्र असन्तुष्ट रहेका क्रियाशील सदस्यहरूसँग संवाद गरी गल्ती स्वीकार गर्दै सुधारको प्रतिबद्धता जनाउनुपर्ने धारणा राखे। तर, नेतृत्वले आत्मसमीक्षा गर्नुको सट्टा एक–अर्कालाई लल्कार्ने प्रवृत्ति बढाएको उनको भनाइ थियो।
उनले अनुशासन र कारबाहीको नाममा कार्यकर्तालाई तर्साउने काम भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। “भोट नदिएको निहुँमा कार्यकर्तामाथि कारबाही गर्ने प्रवृत्ति गलत हो,” उनले भने।
खड्काले वर्तमान र पूर्व नेतृत्व दुवैलाई अहङ्कार त्यागेर गाउँ–बस्तीमा पुग्न तथा पार्टी पङ्क्तिलाई एकताबद्ध बनाउन आग्रह गरे। साथै उनले कमजोर चुनावी परिणामबारे नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।