काठमाडौँ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चार छाता संगठनहरूले ध्यानाकर्षण जनाएका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस घटनाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई नियन्त्रणमा लिएपछि बैंकिङ संघहरूले कर्जा असुलीको प्रक्रियालाई लिएर गरिएको कारबाहीप्रति प्रश्न उठाएका छन्। उनीहरूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कर्जा असुली बैंकको नियमित प्रक्रिया भएकाले यसलाई आपराधिक दृष्टिले नहेर्नुपर्ने तर्क गरेका छन्।
संघहरूले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नियन्त्रणमा लिँदा बैंकको साख र वित्तीय स्थायित्वमा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। साथै उनीहरूले पाण्डेलाई थुनाबाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।