काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ भन्ने प्रश्न उठाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएको छ। बिहीबारको प्रतिनिधि सभा बैठकमा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सभामुखमार्फत सरकारलाई सो प्रश्न गरेका हुन्।
उनले नेपालको संविधानको धारा ७४ ले बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था स्पष्ट गरेको उल्लेख गर्दै सरकारले त्यसअनुसार नै काम गरिरहेको हो कि होइन भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताए।
सचेतक महरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले लोकतान्त्रिक प्रणालीभन्दा फरक “बालेनतन्त्र” विकास गर्न खोजिएको हो कि भन्ने चर्चा सार्वजनिक रूपमा उठिरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले प्रधानमन्त्रीले पटक–पटक संसद्को उपेक्षा गरेको र संसदीय मर्यादामाथि प्रश्न उठ्ने व्यवहार देखाएको आरोप पनि लगाए।
उनका अनुसार सरकार संसद्प्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने भए पनि त्यसको अभाव देखिएको छ। उनले नीति तथा कार्यक्रम जस्ता महत्वपूर्ण अवसरमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्नेमा जोड दिँदै जनताका प्रश्न सुन्न सरकार बाध्य हुनुपर्ने बताए।
महरले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै संसदलाई बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहे लोकतान्त्रिक अभ्यास कमजोर हुने चेतावनी समेत दिएका छन्।