काठमाडौँ।
प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले कुनै पनि सांसद वा प्रधानमन्त्रीको सदनमा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पारेका छन्। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई उपस्थित गराउन विपक्षी दलका सांसदहरूले रुलिङको माग गरेपछि सभामुखले यस्तो प्रष्टीकरण दिएका हुन्।
सभामुख अर्यालले कानुनमा टेकेर सदन सञ्चालन भइरहेको उल्लेख गर्दै भने, "भोलि कोही माननीय सदस्य वा सम्माननीय प्रधानमन्त्री सदनमा आउन सक्नुहुन्छ वा हुन्न भनेर आजै कार्यतालिका सोध्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिन।"
उनले बैठक सुचारु गर्न आग्रह गर्दै प्रधानमन्त्री साहसँग आजै बेलुका यसबारे छलफल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर विपक्षीले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।