काठमाडौँ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले मंगलबार सुर्खेतका ३७ वर्षीय निराजन शाही र धादिङका ३० वर्षीय प्रेम कुमार श्रेष्ठलाई काठमाडौंको चाबहिलबाट नियन्त्रणमा लिएको हो।
ब्यूरोका अनुसार उनीहरूले ‘क्लास १२ म्यानेजमेन्ट अनली’ नामक ह्वाट्सएप ग्रुप र फेसबुक मेसेन्जरमा विभिन्न समूह बनाएर उत्तरसहितको प्रश्नपत्र बाहिर ल्याएका थिए। राष्ट्रिय परीक्षा बोर्डको उजुरीपछि प्राविधिक अनुसन्धान गर्दा उनीहरूको संलग्नता पुष्टि भएको हो।
पक्राउ परेका दुवै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान सुरु गरिएको छ। जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको र यस कार्यमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।