केप टाउन ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफूविरुद्ध अघि बढ्न सक्ने महाभियोग प्रक्रियालाई कानुनी रूपमा चुनौती दिने बताएका छन्। निजी गेम फार्मबाट ठूलो रकम चोरी भएको घटनासम्बन्धी प्रतिवेदनपछि संसदमा उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढ्ने सम्भावना देखिएको छ।
दक्षिण अफ्रिकाको संवैधानिक अदालतले सन् २०२२ मा संसदले रामाफोसाविरुद्ध महाभियोग छानबिन समिति गठन नगर्ने निर्णयलाई असंवैधानिक ठहर गरेपछि यो विवाद फेरि चर्किएको हो। सोमबार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै रामाफोसाले राजीनामा नदिने स्पष्ट पार्दै “म अझै यहीँ छु” भनेका थिए।
यो विवाद चर्चित “फाला फाला” काण्डसँग जोडिएको छ। उक्त घटनामा रामाफोसाको गेम फार्ममा रहेको फर्निचरभित्र लुकाइएको हजारौं डलर चोरी भएको बताइएको थियो। एक स्वतन्त्र प्यानलले उक्त घटनालाई राष्ट्रपतिले सम्हालेको तरिकामा गम्भीर दुराचार भएको हुन सक्ने प्रारम्भिक प्रमाण रहेको निष्कर्ष निकालेको थियो।
रामाफोसाले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै उक्त रकम भैंसी बिक्रीबाट आएको वैध आम्दानी भएको बताएका छन्। अदालतले घटनामाथि संसदमार्फत थप छानबिन हुनुपर्ने उल्लेख गरेपछि रामाफोसाले उक्त प्रतिवेदन अनुमानका आधारमा तयार गरिएको भन्दै पुनरावलोकनका लागि अदालत जाने तयारी गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार रामाफोसा संसदमा हुने मतदानबाट जोगिन सक्ने अवस्थामा भए पनि, सार्वजनिक सुनुवाइले उनको राजनीतिक छविमा असर पार्न सक्ने भएकाले उनले कानुनी बाटो रोजेका हुन्।