काठमाडौँ
श्रम संस्कृति पार्टीका सांसद हर्कराज साम्पाङ राईले लिपुलेक क्षेत्रमा भारतले नाका खोल्दा सरकार मौन बसेको भन्दै कडा प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सीमा सुरक्षाप्रति सरकारको भूमिकामाथि प्रश्न गरेका हुन्।
सांसद राईले छिमेकी मुलुकले नेपालको भूमि मिचेर नाका सञ्चालन गर्दा सरकार किन चुप रहेको भन्दै आपत्ति जनाए। उनले नेपाली सेनालाई सीमा संरक्षणमा परिचालन गरिएको हो कि सुकुमबासी बस्तीका नागरिक हटाउन प्रयोग गरिएको हो भन्ने प्रश्नसमेत गरे।
उनले देश अभिभावकविहीन जस्तै बनेको टिप्पणी गर्दै सरकारले जनताको संरक्षण गर्न नसकेको आरोप लगाए। सुकुमबासी र गरिब नागरिकलाई पीडा दिने सरकार जनताको अभिभावक बन्न नसक्ने उनको भनाइ थियो।
राईले प्रधानमन्त्री सुकुमबासी बस्तीको होल्डिङ सेन्टरमा पुगेका छन् कि आफ्नै कार्यालयमा बसेका छन् भन्ने प्रश्नसमेत उठाए। उनले सरकारलाई संवैधानिक र प्रशासनिक आधारभूत ज्ञानसमेत आवश्यक परेको भन्दै व्यङ्ग्य गरे।
त्यसैगरी उनले संवैधानिक परिषदको निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाउँदै बहुमत गणनासम्बन्धी विषयमा सरकारसँग स्पष्टिकरण माग गरेका छन्।