काठमाडौँ : नेपाल प्रहरीका प्रमुख (आईजीपी) दान बहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले जटिल भूगोल र देशभर जथाभावी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताएका हुन्। उनले नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुःखद बन्दै गएको भन्दै दैनिक औसतमा आठजनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको बताए।
कार्कीले सवारी दुर्घटना राज्य, व्यवसायी, मजदुर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनले यातायात व्यवसायीको महाधिवेशनले पनि दुर्घटना न्यूनीकरणका लागि स्पष्ट मार्गनिर्देशन र दिशा तय गर्नुपर्ने बताए।
उनका अनुसार पछिल्ला वर्षमा जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा बाढी, पहिरो तथा मनसुनजन्य विपद् बढ्दै गएका छन्, जसले सवारी दुर्घटनाको जोखिम थप बढाएको छ। विशेषगरी चाडपर्वको समयमा भएका ठूला दुर्घटनाले मानवीय क्षतिसँगै राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ।
आईजीपी कार्कीले भने‚ ‘नेपालको भूगोल जटिल छ र यो भूगोलमा जसोतसो निर्माण भएका ठूला साना सडकमा सवारीसाधन चलेका छन्। दैनिक सरदरमा आठजनाको मृत्यु हुनु निकै दुःखदायी अवस्था हो। क्षति भएका व्यक्तिले भरणपोषण गर्नुपर्ने परिवारको पनि क्षति भएको अवस्था छ। गाउँगाउँमा वडाध्यक्ष, अध्यक्षहरूले इच्छा गरेर बनाइएका सडकहरू गाउँगाउँ जथाभावी डोजरे क्रान्ति गरिएका बाटाको कारणले पनि दुर्घटना भएका छन् भन्ने पनि हामीले स्वीकार गर्नुपर्ने छ।’
आईजीपी कार्कीले दुर्घटनाका कारण केवल मानवीय कमजोरी मात्र नभई इन्जिनियरिङ पक्ष पनि उत्तिकै जिम्मेवार रहेको बताए। गाउँ–गाउँमा योजनाविहीन रूपमा डोजर प्रयोग गरेर बनाइएका सडकले दुर्घटना निम्त्याएको उल्लेख गर्दै उनले यस्ता सडकको प्राविधिक गुणस्तर तथा वातावरणीय प्रभावको गम्भीर समीक्षा आवश्यक रहेको बताए।
जलवायु परिवर्तन, कमजोर सडक संरचना, लापरवाही, अज्ञानता र कानूनी कार्यान्वयनको कमजोरीलाई दुर्घटनाका प्रमुख कारणका रूपमा औंल्याउँदै सुरक्षित यातायात प्रणाली निर्माणमा राज्यले दीर्घकालीन नीति अवलम्बन गर्नुपर्नेमा उनको जोड थियो।