असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

Author

सजिलो पत्रिका

२०८३ वैशाख २३, बुधबार

23
Share
Featured

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकार गठन भएको १०० दिनसम्म कुनै पनि देशको भ्रमणमा ननिस्किने भएका छन्। बालेन्द्रको सचिवालय र  परराष्ट्र मन्त्रालय का अनुसार उनी सरकार गठनको तीन महिनासम्म कुनै देशमा नजाने भएका छन् ।

पछिल्लो समय उनलाई भ्रमण गराउन दक्षिणी छिमेकी भारत आतुर देखिएको छ। स्रोतका अनुसार कुनै नाटकीय परिवर्तन नभएसम्म प्रधानमन्त्री शाह असारअघि भारत र चीन दुवैतिर नजाने लगभग निश्चित छ।

१०० दिनसम्म सरकारले परिणाममुखी काम गरेर चुनावी वाचाअनुसार नतिजा दिनुपर्ने भएकाले भ्रमणमा ननिस्किने सचिवालय स्रोत बताउँछ।

राम नवमी पर्वको अवसर पारेर चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेन्द्रलाई त्यही दिन भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी बधाई दिएका थिए । 

बधाईसँगै उनले बालेन्द्र र आफू मिलेर नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने पनि बताएका थिए । ‘भारतनेपाल बीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन तपाईँसँग नजिकबाट काम गर्न म उत्सुक छु,’ मोदीले लेखेका थिए ।

त्यसपछि परराष्ट्रमन्त्री  शिशिर खनाल र भारतीय समकक्षी डा. एस. जयशंकरबीच इन्डियन ओसन सम्मेलनमा मोरिससमा उच्चस्तरीय भ्रमणलगायतबारे छलफल भएको थियो । त्यही क्रममा भारतीय प्रधानमन्त्री मोदीले बधाई पत्र पठाउँदै बालेन्द्र शाहलाई भारत भ्रमणका लागि निम्तो दिएका थिए । 

त्यसबेला प्रधानमन्त्री शाहले निम्तोलाई सकारात्मक रूपमा स्वीकार गर्दै आवश्यक कूटनीतिक गृहकार्यपछि भ्रमणको मिति तय गर्ने बताएका थिए । खनालले पनि आवश्यक कूटनीतिक तथा एजेन्डाकृत छलफल गरेर जानकारी गराउने वचन दिएका थिए । जयशंकरले नेपालको तर्फबाट तयारी सम्पन्न भएपछि खबर पठाउन आग्रह गरेका थिए ।

सम्मेलनबाट फर्किएपछि पत्रकारहरूसँग खनालले भनेका थिए, ‘उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा प्रस्ताव आएको छ, तर मिति तय भएको छैन ।’

उनले नयाँ सरकारले आफ्नो प्राथमिकता निर्धारण गरेर दुवै देशका मन्त्रालयको प्राविधिक समितिले काम पूरा गरेपछि मात्रै उच्चस्तरीय राजनीतिक भ्रमण गर्ने विषयमा छलफल भएको बताएका थिए ।

हाल नेपाल र भारतले आ–आफ्नो तर्फबाट भ्रमणको तयारी अघि बढाए पनि मिति तय हुन अझै समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाहले पनि तीन महिनाअघि भारत वा चीन भ्रमणलाई प्राथमिकतामा नराखेकाले त्यस अवधिमा भारत भ्रमणको सम्भावना न्यून रहेको बताइएको छ ।

‘सुकुम्वासी व्यवस्थापनको काम भइरहेकाले बीचमै छाडेर प्रधानमन्त्री विदेश जान मिल्दैन। जेठ १५ गते बजेट ल्याउने तयारी छ । सरकार गठन चैत १३ गते भएको हो । असार १३ अगाडि भारत जाने मिति तय हुने अवस्था देखिँदैन,’ प्रधानमन्त्रीका एक सहयोगीले भने, ‘जेठ महिनामा भ्रमण हुने सम्भावना अत्यन्त न्यून छ। भए असारतिर हुन सक्छ ।’

परराष्ट्र मन्त्रालयले तयारी गरिरहे पनि प्रधानमन्त्री शाहले तीन महिनासम्म भारत नजाने बताइरहेका छन्। सरकारले प्रारम्भिक तीन महिनामा देशभित्रै परिणाममुखी काम गर्नुपर्ने भएकाले त्यसपछि मात्रै विदेश भ्रमणमा जाने चाहना रहेको एक कर्मचारीले बताए।

‘तीन महिनासम्म काम गर्ने रणनीति प्रधानमन्त्रीले अपनाउनुभएको छ। जानैपर्ने अवस्थामा असारअगाडि सम्भावना निकै न्यून छ,’ ती सहयोगीले भने।

यो समाचारमा

नरेन्द्र  मोदीभारतशिशिर खनालनेपाल
परराष्ट्र मन्त्रालय6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    दैनिक ५२० रुपैयाँमै आफ्नै एमजी कमेट ईभी, जी.ओ. अटोमोबाइल्सको नयाँ ईएमआई योजना

    काठमाडौँ।गोल्छा अर्गनाइजेसनअन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रालिले नेपालकै सबैभन्दा स्मार्ट र कम्प्याक्ट विद्युतीय कार 'एमजी कमेट ईभी' खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अब ग्राहकले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा यो कार आफ्नो बनाउन सक्नेछन्।जी.ओ. अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले

    Data is loading...

    Loading brands...

    Loading footer...