काठमाडौँ
प्रतिनिधिसभाको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बैठकमा सांसद प्रकाश पाठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र ग्यास सिलिन्डरको गुणस्तरबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा बोल्दै उनले छिमेकी मुलुकहरूको तुलनामा नेपालमा पेट्रोलको मूल्य अत्यधिक भएको भन्दै असन्तुष्टि जनाए। उनका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा पेट्रोलको मूल्य करिब २१९ रुपैयाँ पुगेको छ, जबकि भारतमा १५० रुपैयाँ ९६ पैसा, भुटानमा १०२ रुपैयाँ र बंगलादेशमा १२८ रुपैयाँ मात्र रहेको छ।
सांसद पाठकले भूपरिवेष्टित मुलुक भए पनि नेपाल र भुटानबीच पेट्रोल मूल्यमा ठूलो अन्तर देखिनु अस्वाभाविक भएको बताए। उनले नेपाल आयल निगमको आर्थिक अवस्था र मूल्य निर्धारण प्रणालीमाथि पनि प्रश्न उठाएका छन्।
उनले मूल्यवृद्धिको असर केवल इन्धनमा मात्र नभई उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानीसम्म पुगेको भन्दै नागरिकको जीवनयापन महँगो बन्दै गएको टिप्पणी गरे।
त्यस्तै, उनले ग्यास सिलिन्डरको सुरक्षा र गुणस्तरबारे पनि गम्भीर चिन्ता व्यक्त गरे। विभिन्न अध्ययनहरूले सिलिन्डर असुरक्षित देखाएको भन्दै उनले यसलाई ‘जोखिमपूर्ण’ अवस्था भएको बताए।
सिलिन्डरभित्र हुने लेदो पदार्थका कारण उपभोक्ताले अतिरिक्त भार बेहोर्नुपरेको भन्दै उनले अनुगमन र नियमन कडा बनाउन सरकारसँग माग गरेका छन्। उनले मन्त्रालयलाई तत्काल समस्या समाधानका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्।