काठमाडौँ
जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो संसदीय दलको नेता परिवर्तन गरेको छ। पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउत ले चन्दन कुमार सिंहलाई नयाँ संसदीय दलको नेतामा नियुक्त गरेका हुन्।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार मंगलबारदेखि लागू हुने गरी सिंहलाई जिम्मेवारी दिइएको हो। यसबारे पार्टीले औपचारिक पत्र जारी गर्दै मधेस प्रदेशसभा सचिवालय र संसदीय दललाई समेत जानकारी गराइसकेको जनाएको छ।
यसअघि मधेस प्रदेशसभामा जनमत पार्टीको संसदीय दलको नेता महेशप्रसाद यादव रहेका थिए। नयाँ नेता बनेका सिंह पार्टीका केन्द्रीय सचिवसमेत हुन्।
पार्टी स्रोतका अनुसार हालै सरकारबाट फिर्ता हुने निर्णयपछि उत्पन्न आन्तरिक असहमतिका कारण नेतृत्व परिवर्तन गरिएको हो। यादवले सो निर्णयमा सहकार्य नगरेपछि संसदीय दलको नेतृत्व फेरबदल गरिएको बताइएको छ।
