काठमाडौँ
सार्वजनिक खरिद प्रणालीको वेबसाइट ह्याक गरी ठेक्काको विवरण हेरफेर गरेर ठूलो आर्थिक अनियमितता गरिएको आरोपमा १२ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। यस प्रकरणमा पूर्वमन्त्री तथा निर्माण व्यवसायीसमेत संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोको अनुसन्धानअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) अन्तर्गतको ‘बोलपत्र डटकम डट एनपी’ प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काको विवरण परिवर्तन गरिएको पाइएको छ। सोही क्रममा बञ्चरेडाँडा ल्याण्डफिल साइट तथा अन्य आयोजना सम्बन्धी ठेक्कामा समेत अनियमितता भएको खुलेको छ।
अनुसन्धानका क्रममा कल्पवृक्ष बिल्डर्सका सञ्चालक प्रकाश ढुंगानाले वेबसाइट ह्याक गरेर ठेक्का आफ्नो कम्पनीमा पार्न सहयोग गर्ने व्यक्तिलाई ४० लाख रुपैयाँ ‘घुस’ दिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ। सो ठेक्का काठमाडौँ उपत्यकाको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटको फोहोर व्यवस्थापन सम्बन्धी रहेको बताइएको छ।
यसैबीच, पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसमेत यसै प्रकरणमा पक्राउ परेका छन्। कालिका कन्स्ट्रक्सन र अन्य निर्माण कम्पनीहरूले पनि बोलपत्र प्रणालीमा पहुँच बनाएर प्रतिस्पर्धीका विवरण हेरफेर गरेको आरोप अनुसन्धानमा उल्लेख छ।
त्यस्तै, आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौली, अन्य निर्माण व्यवसायी तथा केही प्राविधिक कर्मचारीहरू समेत अनुसन्धानको दायरामा छन्। सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका नायब सुब्बा दिवाकर देउजाले पनि ठेक्काको विवरण हेरफेरमा भूमिका खेलेको आशंका गरिएको छ।
सीआईबीका अनुसार हालसम्म १२ जना पक्राउ परेका छन् र उनीहरूमाथि संगठित अपराध तथा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ। प्रहरीले ह्याकिङ र कर्मचारीको मिलेमतो दुवै कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ।