काठमाडौँ
दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पका विशेष दूत सर्जियो गोरले सगरमाथा आधार शिविरमा ड्रोन उद्घाटन गरेपछि उक्त गतिविधिबारे चर्चा र चासो बढेको छ। तीन दिने नेपाल भ्रमण सकेर उनी शनिबार राति भारत प्रस्थान गरेका हुन्।
गोर शुक्रबार सगरमाथा बेसक्याम्प पुगेर ‘अल्ट्र एक्स जेन–२’ नामक अमेरिकी कार्गो ड्रोन उद्घाटन गरेका थिए। अमेरिकी पक्षका अनुसार उक्त ड्रोनले करिब ५ किलोसम्मको भार बोक्न सक्ने क्षमता राख्छ र भविष्यमा सगरमाथा क्षेत्रमा उद्धार तथा ढुवानी कार्यमा उपयोगी हुन सक्ने बताइएको छ।
उक्त कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधि स्कट चार्जसमेत सहभागी थिए। तर, संवेदनशील सीमा क्षेत्र नजिक विदेशी अधिकारीले ड्रोन सञ्चालन गरेपछि यसको अनुमति र प्रक्रियाबारे प्रश्न उठेका छन्। सोलुखुम्बु प्रशासनले भने यसबारे औपचारिक जानकारी नभएको जनाएको छ।
परराष्ट्र मामिलाका जानकारहरूले सगरमाथा क्षेत्र नजिक ड्रोन प्रयोगलाई संवेदनशील विषयका रूपमा व्याख्या गरेका छन्। यसले नेपालका छिमेकी देशहरू चीन र भारतमा सुरक्षा चासो बढाउन सक्ने भन्दै कूटनीतिक सन्तुलनमा ध्यान दिनुपर्ने उनीहरूको धारणा छ।
यसैबीच, गोरले नेपालमा उच्चस्तरीय भेटवार्ता समेत गरेका थिए। उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री तथा परराष्ट्रमन्त्रीसँग भेट गर्दै नेपालमा भइरहेको सुधार प्रयासप्रति सकारात्मक टिप्पणी गरेको जनाइएको छ।