काठमाडौँ
पूर्वमन्त्री सुदन किरातीले सुकुमबासी व्यवस्थापनको विषयमा सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उचित व्यवस्थापन अभावका कारण सुकुमबासीहरू निराशामा धकेलिएको बताएका छन्।
किरातीका अनुसार व्यवस्थापनमा ढिलाइ र अस्पष्टताका कारण केही मानिसहरू चरम मानसिक दबाबमा परिरहेको र दुःखद अवस्थासम्म पुग्न सक्ने जोखिम बढेको छ। उनले लोकतान्त्रिक प्रणालीमा जनताले सुकुमबासी व्यवस्थापनबारे स्पष्ट जानकारी पाउनुपर्ने माग गरेका छन्।
उनले सुकुमबासी समस्या केवल प्रशासनिक विषय नभई सामाजिक न्याय, मानव अधिकार, नागरिकको आत्मसम्मान र दीर्घकालीन गरिबी न्यूनीकरणसँग जोडिएको संवेदनशील मुद्दा भएको उल्लेख गरेका छन्। बस्तीमा रहेका बालबालिका र ज्येष्ठ नागरिकको अवस्था चिन्ताजनक रहेको भन्दै यसले आम जनमानसमा आक्रोश बढाइरहेको उनको भनाइ छ।
किरातीले लोकतन्त्रको आधार नै नैतिकता, पारदर्शिता र जवाफदेहिता भएको उल्लेख गर्दै राज्यले नागरिकका गुनासा र प्रश्नहरूको उत्तर दिनुपर्नेमा जोड दिएका छन्। सुकुमबासीहरूले उठाइरहेका आवाजलाई सम्बोधन गर्न सरकारलाई उनले आग्रह गरेका छन्।