काठमाडौँ
नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णय सार्वजनिक गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता र सह–संयोजक माधवकुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले आगामी महाधिवेशनदेखि संगठन सुदृढीकरणसम्मका महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकले आगामी २०८३ मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा पार्टीको एकता राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसअघि जेठ मसान्तभित्र सबै जनवर्गीय संगठन तथा स्थानीय तहका कमिटीहरूको समायोजन पूरा गर्ने र भदौदेखि कात्तिकसम्म वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
पार्टीले संगठनात्मक संरचनामा युवाको सहभागितालाई प्राथमिकता दिँदै निर्वाचित कमिटीहरूमा ५० प्रतिशत युवा तथा नव–युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ। यसलाई पार्टीले साङ्गठनिक सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।
यसैगरी, बैठकले हालै सम्पन्न निर्वाचनको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका लागि सुझाव दिन ११ सदस्यीय कार्यदल गठन गरेको छ। उक्त कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायतका नेताहरू रहेका छन्।
पार्टीले समसामयिक १९ वटा प्रस्तावसमेत पारित गर्दै कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणका लागि विशेष पहल गर्ने प्रतिबद्धता जनाएको छ।