काठमाडौँ
सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अघि बढाएको विषयमा विपक्षी दलहरूले आपत्ति जनाउँदै राष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएका छन्। सोही सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्म राज आङदेम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शनिबार शीतल निवासमा भएको भेटमा आङ्देम्बेले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोजेको भन्दै त्यसलाई जारी नगर्न राष्ट्रपतिसँग आग्रह गरेका हुन्। उनले विपक्षी दलहरूको संयुक्त निर्णयबारे जानकारी दिँदै यो कदम लोकतान्त्रिक अभ्यासविपरीत भएको दाबी गरे।
यसअघि विभिन्न विपक्षी दलहरूको संयुक्त बैठकले सरकारले ल्याउन लागेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको थियो। साथै, चाँडोभन्दा चाँडो संघीय संसद्को अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति पनि बनेको थियो।
विपक्षी दलहरूले संसद् चलिरहेको वा बोलाउने तयारी भइरहेका बेला अध्यादेशमार्फत शासन चलाउने प्रयास गलत भएको आरोप लगाएका छन्। संवैधानिक नियुक्तिहरूमा अनुकूल निर्णय गराउने उद्देश्यले अध्यादेश ल्याइएको हुन सक्ने आशंका पनि उनीहरूले व्यक्त गरेका छन्।